📍 Thapa Gaun, Bhaisepati, Lalitpur-18  |  ☎ 9851207053, 9840574490
info@dpschool.edu.np  |  Mon–Fri: 8:45 – 4:00

टोलको सरसफाइमा सहयोग गर्दाको अनुभव

यश्रोन तामाङ
यश्रोन तामाङ Dynamic Public School · Student Voices
भिडियो क्लिप आउँदै छ…

एक शनिबार बिहान म आफ्‍नो टोलको बाटो हुँदै हिँडिरहेको थिएँ। केही दिनदेखि पानी परेकाले सडकको छेउमा फोहोर जम्मा भएको थियो। प्लास्टिकका झोला, कागज, बोतल र पातपतिङ्गरले नाली थुनिएको थियो। पानी बग्‍न नसकेर बाटोमा जमेको थियो र वरपर दुर्गन्ध फैलिएको थियो।

त्यो बाटोबाट विद्यालय जाने बालबालिका, वृद्धवृद्धा र अन्य स्थानीय मानिसहरूलाई हिँड्‍न गाह्रो भइरहेको थियो। केही मानिस नाक छोपेर हिँडिरहेका थिए। साना बालबालिकाले फोहोर पानी छल्दै बाटो काटिरहेका थिए। यस्तो अवस्था देख्दा मलाई नराम्रो लाग्यो।

त्यही दिन हाम्रो टोल विकास समितिले सरसफाइ कार्यक्रम आयोजना गरेको रहेछ। केही स्थानीय मानिसहरू कुचो, साबेल, डोको र फोहोर राख्‍ने बोरा लिएर जम्मा भएका थिए। उहाँहरूले सडक र नाली सफा गर्न थाल्‍नुभएको थियो। काम धेरै थियो, तर सहयोग गर्ने मानिस थोरै थिए।

त्यो अवस्था देख्दा मलाई पनि सहयोग गर्न मन लाग्यो। सरकारले बाटो र नाली निर्माण गरिदिए पनि त्यसलाई सफा र सुरक्षित राख्‍ने जिम्मेवारी नागरिकको पनि हो भन्‍ने मलाई लाग्यो। म घर गएर कुचो र पन्जा लिएर फेरि त्यहाँ पुगेँ।

मैले सुरुमा सडकको छेउमा छरिएका प्लास्टिक, कागज र बोतलहरू टिपेर बोरामा राखेँ। त्यसपछि अरू मानिसहरूसँग मिलेर नालीमा थुप्रिएको फोहोर निकाल्‍न सहयोग गरेँ। नालीभित्र माटो र पात धेरै जम्मा भएको थियो। हामीले साबेलको सहायताले त्यसलाई निकालेर एक ठाउँमा जम्मा गर्‍यौँ।

काम गर्दा हात र कपडा फोहोर भए। घाम लागेकाले थकाइ पनि महसुस भयो। तर सबै मानिस मिलेर उत्साहपूर्वक काम गरिरहेका थिए। कसैले सडक बढारिरहेका थिए, कसैले फोहोर बोरामा राखिरहेका थिए र कसैले फोहोर व्यवस्थापन गर्ने ठाउँसम्म पुर्‍याइरहेका थिए। सबैको सहकार्यका कारण कठिन काम पनि सजिलो भइरहेको थियो।

केही घण्टापछि सडक सफा देखिन थाल्यो। नालीबाट पानी सहज रूपमा बग्‍न थाल्यो र दुर्गन्ध पनि कम भयो। सफा बाटो देखेर टोलका मानिसहरू खुसी भए। एक जना वृद्ध बुबाले हामीलाई, “तिमीहरूले राम्रो काम गर्‍यौ,” भन्दै धन्यवाद दिनुभयो। साना बालबालिका पनि सफा बाटोमा सजिलै हिँड्‍न थाले।

काम पूरा भएपछि म थाकेको थिएँ, तर मेरो मनमा ठूलो खुसी र सन्तुष्टि थियो। मैले गरेको सहयोग सानो थियो, तर सबैको सानो–सानो प्रयास जोडिँदा टोलको अवस्था परिवर्तन भएको थियो। त्यस दिन मैले सरकारको कामलाई आलोचना मात्र गरेर होइन, नागरिकले आफ्‍नो जिम्मेवारी पूरा गरेर पनि देश विकासमा सहयोग गर्नुपर्छ भन्‍ने कुरा बुझेँ।

यस घटनाबाट मैले सार्वजनिक ठाउँ सफा राख्‍नु, विकासका कामको संरक्षण गर्नु र समुदायका मानिससँग मिलेर काम गर्नु प्रत्येक नागरिकको कर्तव्य हो भन्‍ने कुरा सिकेँ। देश विकास सरकारको मात्र जिम्मेवारी होइन। हामी सबैले आफ्‍नो ठाउँबाट सहयोग गरेमा हाम्रो टोल, समाज र देशलाई सफा, सुरक्षित र समृद्ध बनाउन सकिन्छ।

सबै विद्यार्थीका लेखहरू

यश्रोन तामाङ Anish Budha Anisha Shahi Anju Praja Bikram Rawat Bipana Mijar Dipesh BK Josh Nepali Lydia Singh Minika Bista Nochik Lama Parikchit Rajbhandari Prince Magar Rebika BK Rijan Ghimire Robinson Lamtari Sabin Khati Samina Praja Sangam Rai Sapana Shahi Shikshya Karki Shreeya Shrestha Sushil Hamal Ubika Rai Yabesh Achhami
← अन्य विद्यार्थीका अनुभव

Want your child to learn by doing?

Admissions are open — limited seats every year.

Apply Now →